प्रारम्भिक चरणमा रहेका प्रविधि स्टार्टअपहरूका महिला संस्थापकहरूलाई पहिचान गर्ने उद्देश्यले स्थापित गरिएको एक विश्वव्यापी पुरस्कार Aurora Tech Awardले आफ्नो २०२६को संस्करणमा एक समर्पित फिनटेक मार्गको अनावरणको घोषणा गरेको छ। यस नयाँ श्रेणीले फिनटेक, अर्थात वित्तीय प्रविधिको विश्वव्यापी वृद्धिलाई प्रमुखता प्रदान गर्दछ - विशेष गरी त्यस्ता प्रभाव-सञ्चालित वित्तीय समाधानहरूलाई जसले पहुँच, समावेशीकरण र हिस्सेदारीलाई सुधार गर्दछ।
यस पुरस्कारमा आवेदन दिइरहेका फिनटेक स्टार्टअपहरूको बढ्दो संख्यालाई पनि यस नयाँ वर्गको उपस्थितिले प्रतिबिम्बित गर्दछ। यस्तो एउटा उदाहरणको रुपमा गत वर्षको विजेता नाइजेरियाको HerVestलाई लिन सकिन्छ जसले महिलाहरूलाई बचत र लगानीका अवसरहरूमा पहुँच प्रदान गर्नुका साथै महिला साना किसानहरू र व्यवसाय मालिकहरूलाई ऋण प्रदान गरिरहेको छ। HerVestको लक्ष्य वित्तीय समावेशीकरण मार्फत महिलाहरूको जीवन सुधार गर्नु हो, ठ्याक्कै त्यस्तै प्रकारका उद्यमहरू जसलाई Auroraको नयाँ मार्गले गति प्रदान गर्ने लक्ष्य राखेको छ।
मेन्टरशिप, अर्थात प्रत्यक्ष मार्गदर्शनको साथै फिनटेक मार्गका सहभागीहरूले inDrive.Moneyबाट पनि विशेष अनुकूलित सहायता प्राप्त गर्नेछन्, जुन यस कम्पनीको चालक समुदायहरूलाई सशक्त बनाउने उद्देश्यबाट सञ्चालित इन-एप वित्तीय सेवा हो। अहिले मेक्सिको, कोलम्बिया, पेरु र इन्डोनेसियामा सञ्चालन भइरहेको inDrive.Money ले चालकहरूलाई नगद ऋण र अन्य वित्तीय सेवाहरूमा द्रुत पहुँच प्रदान गर्दछ जसबाट मानिसहरूलाई स्थिरता र स्वतन्त्रता निर्माण गर्न मद्दत पुग्छ।
inDrive.Money सँग विविध बजारहरूमा वित्तीय उत्पादनहरूको क्षमतालाई अभिवृद्धि गर्ने (अर्थात स्केल गर्ने) व्यापक अनुभव छ। फिनटेक स्टार्टअपहरूलाई आफ्ना समाधानहरू विकसित गर्न र परीक्षण गर्न व्यावहारिक अवसरहरू प्रदान गर्न यसले आफ्नो अनुभवको लाभ उठाउनेछ, जसमा समावेश हुन्छन्:
- inDrive.Money को युजर बेस (प्रयोगकर्ता)मा पहुँच, जसले गर्दा स्टार्टअपहरूलाई inDrive सञ्चालन भइरहेका देशहरूमा वास्तविक बजार अवस्थाहरूमा आफ्ना उत्पादनहरूको परीक्षण र प्रमाणीकरण गर्ने स्थिति प्राप्त हुन्छ।
- इन-एप प्रवर्द्धन– inDriveसँग प्रगाढ तालमेल भएका स्टार्टअपहरूका लागि। लगभग $२०, ००० को अनुमानित मिडिया मूल्याङ्कन भएको यस सुविधाबाट स्टार्टअपहरूलाई लाखौं प्रयोगकर्ताहरूसम्म पुग्न सक्षम बनाउने छ।
त्यसैले नयाँ फिनटेक मार्गले संस्थापकहरूलाई वास्तविक-विश्व परीक्षण वातावरण, विश्वव्यापी दृश्यता र वित्तीय पहुँचमा थप समता प्रदान गर्ने समाधानहरूको स्तरलाई अझ व्यापक बनाउने अवसरसँग जोड्दछ।
यी सुविधाहरूले बृहत् Aurora Tech Award फाइनलिस्ट कार्यक्रमलाई अनुपूरण गर्छन्, जसले सबै फाइनलिस्टहरूलाई निम्न कुराहरू प्रदान गर्दछ:
- विशेष रुपमा छानिएका लगानीकर्ता र रणनीतिक साझेदारहरूको सञ्जालमा पहुँच
- inDriveको विश्वव्यापी टोलीबाट प्रत्यक्ष मार्गदर्शन र ज्ञान-साझेदारी
- अन्तर्राष्ट्रिय स्तरमा बढ्न, लगानी सङ्कलन गर्न र विस्तार गर्न स्रोतहरू।
यी संयोजनहरूले महिला-नेतृत्वमा रहेका स्टार्टअपहरूलाई आफ्नो व्यावसायिक मोडेललाई सबल बनाउन र विश्वव्यापी रूपमा आफ्नो सामाजिक र वित्तीय प्रभावको स्तरलाई अझ व्यापक गर्न सहयोग गरी एक शक्तिशाली लञ्चप्याड प्रदान गर्दछन्।
“फिनटेक हाम्रो भविष्यलाई आकार दिने सबैभन्दा गतिशील क्षेत्रहरू मध्ये एक हो र यसलाई परिभाषित गर्न महिलाहरूको स्थान समान हुनैपर्छ। यो समर्पित मार्गको सुरुवात गरेर हामी Aurora Tech Awardसँग मिलेर त्यस्ता संस्थापकहरूलाई मद्दत गर्ने लक्ष्य राख्छौं जसले उत्कृष्ट उत्पादनहरू निर्माण गर्ने मात्र नभइ आफ्नो समुदायमा वित्तीय समावेशीकरण र अवसरहरू पनि विस्तार गर्नुहुन्छ,” भन्नुहुन्छ अलिना जाभोरोखिना, वरिष्ठ व्यवसाय प्रमुख & वृद्धि inDrive.Money
2026 Aurora Tech Awardको लागि खुला आह्वान (open call) नोभेम्बर १२, २०२५ सम्म जारी रहनेछ।
महिला संस्थापकहरूले www.auroratechaward.com/fintech-trackमा अनलाइन आवेदन बुझाउन सक्नुहुन्छ।
योग्यता मापदण्ड:
- महिलाद्वारा स्थापित वा सह-स्थापित र नेतृत्व गरिएको
- दर्ता भएको अवधि ५ वर्ष भन्दा बढी नभएको
- काम गरिरहेको कुनै प्रोटोटाइप, MVP, वा प्रारम्भिक ग्राहकहरू भएको
- प्रि-सिड वा सिड चरणमा रहेको
- जम्मा $६० लाख ($6 million) लगानी (सिड राउन्ड सहित) भन्दा बढी नउठाएको।
फाइनलिस्टहरूको मूल्याङ्कन नवीनता, स्केलेबिलिटी, र सामाजिक प्रभावको आधारमा लगानीकर्ता र उद्योग विशेषज्ञहरूको एक प्रतिष्ठित निर्णायक मण्डलद्वारा गरिनेछ। विजेताहरूले पहिलो स्थानको लागि $५०,०००, दोस्रो स्थानको लागि $२०,००० र तेस्रो स्थानको लागि $१५,००० नगद अनुदान प्राप्त गर्नेछन्।
२०२१ मा inDriveको पहलमा अनावरण भएको Aurora Tech Awardले त्यस्ता महिला-नेतृत्व भएका स्टार्टअपहरूको सशक्तिकरण गर्दछ जसले सामाजिक प्रभावसँग नवीनतालाई जोड्दछ। यस पुरस्कारले वर्तमानमा स्वास्थ्य प्रविधि, एआई, वित्तीय प्रविधि, शिक्षा प्रविधि र कृषि प्रविधिका समाधानहरू अगाडि बढाउने मध्यपूर्व एसिया-उत्तर अफ्रिका, ल्याटिन अमेरिका, मध्य एशिया र एसिया-प्यासिफिक क्षेत्रहरूका संस्थापकहरूलाई एकताबद्ध गर्दछ। प्रविधिको भविष्यलाई नयाँ आकार दिने महिलाहरूबाट अपडेटहरू, सफलताका कथाहरू र अन्तर्दृष्टिहरूका लागि लिंक्डइन मा Aurora Tech Awardलाई फलो गर्नुहोस्।



